थिमि चारदोबाटोको खाजाघरमा छापा मारी चार युवति र संचालक समातिए
![थिमि चारदोबाटोको खाजाघरमा छापा मारी चार युवति र संचालक समातिए](https://madhyapurthimi.com/wp-content/uploads/2018/06/handcuffed-hands.png)
मध्यपुर थिमि नगरपालिका चारदोबाटोस्थित गगनचुम्बी खाजाघरमा लागू पदार्थ बेचविखन तथा यौन जन्य गैरकानूनी काम गर्ने गरिएको भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले सोमबार उक्त खाजाघरमा छापा मारी चार युवतीसँगै खाजाघर सञ्चालकलाई नियन्त्रणमा लिएको छ । उक्त खाजाघर मोरङ गोविन्दपुर गाविस ४ घर भइ हाल थिमिमा बस्दै आएका ५२ वर्षीय शंकर राउतले संचालन गर्दै आएका थिए ।
उक्त खाजाघरमा युवती राखी अनैतिक क्रियाकलाप हुन्छ भन्ने विशेष सूचनाको आधारमा छापा मारिएको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार खाजाघरमा छापा मार्दा खाजाघर सञ्चालक राउतको साथबाट दुई सय १० ग्राम लागूपदार्थ गाँजा बरामद भएको थियो भने विभिन्न ब्राण्डका दर्जनौं प्याकेट कन्डमसमेत बरामद भएको बताइएको छ।
प्रहरीका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडक दायाँबायाँ चल्ने ठूलासाना रेस्टुरेन्टमा युवती राखेर अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयले पटकपटक गुनासो गर्दै आएका छन् । तर खाजाघरमा समेत युवतीको व्यवस्था गरिने गरिएको प्रहरीको उक्त छापा पछि खुलेको हो । पक्राउ परेकालाई मंगलबार मुद्धा दर्ता गरी थप अनुन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जानकारी दिएको छ ।