मध्यपुर थिमिको तरकारी बालीमा डोजर

मध्यपुर थिमिको तरकारी बालीमा डोजर

काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालयले मध्यपुरथिमि नगरपालिका मनोहरा नगदेशमा संचालन गर्न लागेको दिव्यश्वरी जग्गा एकिकरण आयोजनाले तरकारी खेतीमाथि नै डोजर लगाएपछि मंगलवार दिनभर त्यो क्षेत्र तनाव ग्रस्त बनेको छ । करिव पाँचसय २० रोपनी जग्गामा नगदेशका कृषकहरुले लगाएर बिक्री गर्ने बेला भएको तरकारी माथि चारवटा डोजर लगाएर लाखौको तरकारी बाली नष्ट गरेको भन्दै नगदेशका बासिन्दाले बिरोध गरेपनि त्यस क्षेत्र दिनभर तनाबग्रस्त बनेको हो ।

डोजर लगाएको बिरोधमा सडक बन्द गरेर बिरोधमा उत्रिएका कृषकलाई प्रहरीले खेततिर जान नदिएपछि दोहोरो झडप हुदाँ अपरान्ह ४ बजेसम्म सो क्षेत्र तनाब बनेको थियो । कृषकले प्रहरीलाई ढुङ्गा हानेपछि प्रहरीले लाठीचार्ज गरि कृषकको भीडलाई तितरबितर पारेको थियो । प्रहरीको लाठीबाट स्थानिय दुईजना कृषक घाईते समेत भएका छन् ।

विना सूचना प्रहरीको पहरामा तरकारीबाली लगाईएको जग्गामा चारवटा डोजर लगेपछि कृषकहरु रुवाबासी गर्दै विरोधमा उत्रिएका थिए । तरकारीबालीमा डोजर लगाउँदा एकै कृषकको तीनलाख रुपैयासम्मको तरकारी नष्ट भएको कृषकहरुले दुखेसो पोखेका छन् ।

सरकारले २०६३ साल चैत्त १३ गते यहाँको ५ सय २० रोपनी जग्गा एकीकरण गरेर प्लटिङ्ग गर्ने निर्णय गरेपछि यहाँका केही कृषकले सो निर्णयको बिरोध गर्दै आएकाले आयोजना सुरु गर्न ढिलाई भएको प्राधिकरणका सो क्षेत्रका साईड ईन्चार्ज सरोज ढुङ्गानाले बताए । आगामी दुईवर्ष भित्र आयोजना सम्पन्न गरि कृषकलाई जग्गा फिर्ता दिने लक्ष्य रहेको बताउँदै उहाँले यहाँका कृषकहरुको माग कै आधारमा जग्गा एकीकरण आयोजना संचालन गर्ने निर्णय भएको दाबी गरे ।