मध्यपुर थिमि बोडेस्थित महालक्ष्मी मन्दिर : एक परिचय

रेनराजेन
काठमाडौं उपत्यका भित्रका चार महालक्ष्मीमा मध्यपुरथिमि नगरपालिका वडा नं १ बोदेस्थित भांगुटोलमा अवस्थित महालक्ष्मी एक हो । भांगुटोल ऐतिहासिक बोदे नगरको मध्यभागबाट उत्तरी किनारामा पर्दछ । महालक्ष्मी मन्दिर साँस्कृतिक, ऐतिहासिक र कलात्मक महत्वले ओतप्रोत भएको मन्दिर हो । मन्दिर प्रांगणको भव्यता र यहाँ स्थापना गरिएका विभिन्न स–साना मन्दिरले यसको महत्वलाई ईंगित गर्दछ भने यस प्रांगणमा सम्पन्न हुने विभिन्न साँस्कृतिक क्रियाकलापले यसको साँस्कृतिक महत्वलाई दर्शाउँछ । यसबाहेक मन्दिर परिसरमा भेटिने थुप्रै अभिलेखहरुले यसको ऐतिहासिकतालाई परिचय दिन्छ ।
ऐतिहासिक पृष्ठभूमि
महालक्ष्मी मन्दिरको मूलद्धारको लिन्टलमा कुँदिएको विवरण अनुसार नेसं ७४९ मा समरसिंह र उनकी श्रीमतीले तोरण, इलां, कुंसा, चिकंअपा दान गरेको उल्लेख छ । यसबाट उक्त मन्दिर सोही सालमा बनेको अनुमान गर्न सकिन्छ यद्यपी यस मन्दिरसँग जोडिएका विभिन्न सांस्कृतिक क्रियाकलापहरुले त्यसअघि उक्त स्थानमा महालक्ष्मीको मन्दिर (?) वा मूर्ति हुनसक्ने अनुमान लगाउन सकिन्छ । त्यसैगरी नेसं ७७२ को अर्को अभिलेखमा उक्त मन्दिरको लागि दुईवटा सिंह प्रदान गरेको उल्लेख छ भने मन्दिरमा रहेको स्वर्णझ्याल नेसं ८१० मा बनाएको कुरा मन्दिरमा रहेको अर्को अभिलेखबाट थाहा हुन्छ । नेसं ८१३ को अभिलेखमा मन्दिरको विशेष पूजाको लागि ३२ रोपनी जग्गा चढाएको उल्लेख पाइन्छ । यसबाहेक नेसं ८३३, ८५७, ८६०, ८५९ अंकित विभिन्न उत्कीर्णपत्रहरुमा विभिन्न समयमा विभिन्न व्यक्ति वा दाताले यस मन्दिरको लागि थरीथरीका कलाकृति एवम् पूजा तथा गुथि संचालनको लागि जग्गा प्रदान गरेको विवरण पाइन्छ ।
सांस्कृतिक महत्व
महालक्ष्मी मन्दिरको सांस्कृतिक पक्ष रोचक छ । स्थानीय जीवनशैलीमा यसले निकै ठूलो महत्व राख्दछ । विभिन्न चाडपर्व र अवसरमा गरिने पूजाआजा यस मन्दिरसँग प्रत्यक्षरुपमा सम्बन्धीत परम्पराले यसको महत्वलाई उजागर गर्दछ । वर्षभरी बोदे नगरक्षेत्रमा बनाइने विभिन्न चाडपर्वहरुमा यहाँ विभिन्न सांस्कृतिक क्रियाकलापहरु सम्पन्न हुन्छ । यसमध्ये हरेकवर्ष चैत्र मसान्तबाट प्रारम्भ हुने बिस्काजात्रामा यहाँ थुप्रै क्रियाकलापहरु सम्पन्न गरिन्छ । यस क्रममा महालक्ष्मी मन्दिर अघिल्तिर लिंगो ठड्याउने गरिन्छ । यसैगरी वैशाख १ गतेका दिन यस मन्दिरमा क्षमा पूजा गरिन्छ । जसलाई स्थानीय भाषा अन्नरश (चामलबाट निर्मित एक प्रकारको अमल) चढाउने भनिन्छ । यो कार्य स्थानीय पश्ताः गुथिमार्फत् सम्पन्न गर्दछ । यसक्रममा १२ कुरुवा चामलबाट निर्मित अन्नरशलाई मन्दिरको अघिल्घिर ल्याई चढाइन्छ र गुथियारले आफ्नै घरमा बुनेको ३२ हात लामो ध्वजापताका चढाइन्छ । यसक्रममा मन्दिरको टुप्पामा पुगेर गुथियारले उक्त पताकाको एक छेउ गजूरमा बाँधेर खसाल्छ । तर उक्त पताका मूलगुरुले ओढ्नेमा थाप्ने गरिन्छ । उक्त पताका ओढ्ने परेन वा भुईमा खसेमा देशमा विघ्नबाधा पर्छ भन्ने स्थानीय जनविश्वास रहेको पाइन्छ । सोहि दिनको साँझपख उक्त अन्नरशलाई गुथि थाकुलिं (गुथियारमा सबभन्दा जेष्ठ व्यक्ति) को उपस्थितिमा ३ मानाको सोमा (एक प्रकारको घैंटो) मा सारेर मन्दिर भित्रको महालक्ष्मी र भैरवनाथको मूर्तिको बीचमा रहेको सानो खाल्टोमा खन्याइन्छ । यसलाई स्थानीय भाषामा गलः थनेगु (खाल्टो भर्ने) भनिन्छ । कुनै वर्ष उक्त खाल्डो ४–५ घैंटोले भरिन्छ भने कुनै वर्ष २०–२२ घैंटा भर्नुपर्दछ । यसरी खन्याउँदा धेरै घैंटो लाग्यो भने उक्त वर्ष वर्षा राम्रो नहुने बेलैमा धान रोप्ने नपाइने अनुमान लगाइन्छ । यसबाट स्थानीय जनजीवीकामा समेत महालक्ष्मी मन्दिरको प्रभाव र महत्व रोचक एवम् महत्वपूर्ण रहेको पाइन्छ ।
महालक्ष्मी मन्दिरको साँस्कृतिक महत्वको चर्चा गर्दा बिस्का जात्रामा बोदे नगरभित्र सम्पन्न हुने ८ देविदेवताहरुको खतयात्राको नेतृत्व यिनै महालक्ष्मीले गर्दछ भने बिस्काजात्रा कै क्रममा बैशाख २ गतेका दिन सम्पन्न हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रासँग पनि यसको सम्बन्ध अन्योन्याश्रित रहेको छ । यस क्रममा जिब्रो छेडिसकेपछि नगरपरिक्रमा पश्चात् सुइरोलाई यिनै महालक्ष्मी मन्दिर परिसरमा पुगेर निकाल्ने र मन्दिरको उत्तर पट्टिको मन्दिरको थाम, निदाल आदिमा ठोकिन्छ । यसबाहेक बोदेको प्रसिद्ध द्यःप्याखं (नीलबाराही नाच) महालक्ष्मी मन्दिर परिसरमा पुगेर विशेष नाच सम्पन्न गर्नुपर्ने परम्परा रहि आएको छ ।
कलात्मक महत्व
दुईतले पगोडा शैलीको यो मन्दिरको केही वर्षअघि मात्र जीर्णोद्धार गरिएको थियो । झिंगटिले छाएको यस अघिको छानालाई जीर्णोद्धारपछि तामाले छाएको छ । मन्दिरको सबभन्दा माथि तीनवटा गजूर प्रतिस्थापन गरिएको छ भने मन्दिरतिर अघिल्तिर पहिलो छानामा अर्को एउटा गजूर राखिएको छ । यसले उक्त मन्दिर प्रारम्भमा एक तले भएको पनि कालान्तरमा यसलाई दुईतले बनाइएको थाहा हुन्छ । झण्डै ४० फिट अग्लो मन्दिरको कलात्मक पक्ष निकै आकर्षक रहेको छ । मन्दिरको पहिलो छाना मुन्तिर कलात्मक बुट्टा कुँदिएको भोसुझ्याः (झुकेको सँझ्याः) बनाइएको छ । यसले मन्दिरको सौन्दर्यलाई निखारेको मात्रै छैन मन्दिरको अन्य भागलाई समेत प्रभावमा पारेको अनुभव हुन्छ । यस भोसुझ्याःको मुनि हरेक मोहडामा स्वर्णलेपन गरिएको पाताले मोडिएको बुट्टेदार एकमुखी तिकिझ्याः राखिएको छ भने दोस्रो छानामुन्तिर एकमुखी तिकिझ्याः देख्न सकिन्छ ।
मन्दिरभित्र झण्डै ३ फिट लामो दुईवटा शिलालाई घोप्ट्याएर राखिएको छ जसलाई भैरव र महालक्ष्मी मानिन्छ । यस शिलामाथि स्वर्णलेपन गरिएको छिफ्वः सहितको आकृति स्थापना गरिएको छ । छिफ्वःभित्र महालक्ष्मी, कुमारी र चामुण्डाको आकृति कुँदिएको छ भने यसको मुन्तिर दायाँबायाँ क्रमशः गणेश र कुमारको आकृति अंकित छ । उक्त मूर्ति एवम् शिलामाथिको छानामा स्वर्णलेपन गरिएको इलां राखिएको छ ।
मन्दिरको वरपर चाकःमतः राखिएको छ र मूलद्धारको दायाँपटि शिलास्तम्भमा घण्टा झुण्ड्याइएको छ भने बायाँपटि अर्को घण्टा झुण्ड्याइएको छ जुन अलिकति सानो छ । मन्दिरको अर्को आकर्षणको रुपमा नेपालको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा बोकेको सिंहको प्रतिमा रहेको छ । स्वर्णलेपन गरिएको तामाले मोडेको उक्त सिंहलाई अन्दाजी १५ फिट अग्लो कंक्रिटस्तम्भको टुप्पोमा प्रतिस्थापन गरिएको छ ।
(तश्वीर – नन्दु श्रेष्ठ)