रातारात हनुमन्ते खोला फर्काउन खोज्दा झडप

रातारात हनुमन्ते खोला फर्काउन खोज्दा झडप

मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सीमाना रहेको हनुमन्ते खोलाबाल्कोटको धार शुक्रबार मध्यराति डोजर लगाएर परिवर्तन गराइएपछि दुई पक्षबीचको विवाद भै झडप भएको छ । अदालत र नगरपालिकाको आदेश विपरीत हनुमन्ते खोलामा शुक्रबार रातभर खनेको खाल्डो पुर्न गएका मध्यपुर थिमि नगरपालिकाका नवर्निवाचित नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, कार्यकारी अधिकृत कमल ज्ञवालीलगायत स्थानीयबासिन्दा र खोला फर्काउने पक्षबीच शनिबार झडप भएको हो ।

आन्दोलनमा उत्रिएका स्थानीवासीहरुले नदीमा डोजर र स्काभेटर लगाएर भू–माफियाले प्लटिङको तयारी गरिरहेको भन्दै नाराबाजी गरेका छन् । शुक्रबारराति खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको भनिएको ५ वटा डोजर र स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

साविक मध्यपुर थिमि, अनन्नलिंगेश्वर नगरपालिकाका कार्यकारीहरू, पूर्वजनप्रतिनिधि, सर्वदलिय राजनैतिक संयन्त्रका प्रतिनिधिहरूको संयुक्त बैठकले पटक/पटक खोला फर्काउन नदिने निर्णय गरेको थियो । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १६५ अनुसार खोला क्षेत्रको विवादास्पद जग्गा नगरपालिकाको स्वीकृति बिना निर्माण, जमिन कटानलगायत कार्य नगर्न/नगराउन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त नियम विपरीत मकैबारीको बीचबाट करिब तीन सय मिटर खाल्डो खनेर खोला फर्काउने प्रयास गरेपछि हनुमन्ते खोला संरक्षण समितिको नेतृत्वमा स्थानीयले शनिबार अरनिको राजमार्ग बन्द गरेर विरोध गरेका छन् । खोला फर्काउने पक्षले भने जग्गाको संरक्षण गर्न खोला फर्काएको दाबी गरेका छन् ।

करिब ६ वर्षदेखि खोला फर्काउने प्रयास हुन थालेपछि सार्वजनिक जग्गा संरक्षणका लागि मध्यपुरथिमिका बासिन्दाले ‘हनुमन्ते खोला सरोकार समिति सुन्दर नगर’ गठन नै गरी प्रतिकार गरिरहेका छन् । खोला फर्काउने पक्षले हनुमन्ते खोलाको प्राकृतिक बहाब फर्काउन पटक/पटक स्काभेटरको प्रयोग गरी विवाद सिर्जना गरेको स्थानीयको गुनासो छ । मध्यपुरथिमी र सूर्यविनायकको सिमानामा पर्ने हनुमन्ते खोला फर्काएर सार्वजनिक जग्गा आफ्नो बनाई प्लटिङ गरी व्यापार गर्न डोजर लगाई माटो थुपार्ने, ढुंगा थुपार्ने कार्य गरेको स्थानीयबासिन्दा बताउँछन् । हनुमन्ते खोला किनारस्थित ब्लक कारखानाले वर्षौंदेखि खोलाको करिब ७ रोपनी जग्गा ओगटेर अवैध रुपमा कारखाना सञ्चालन गरेको छ । वर्षौदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी ब्लक कारखाना खोलेर बसेका सञ्चालकलाई नगरपालिकाले हटाउन भने सकेको छैन ।

मध्यपुरथिमि नगरपालिकाले भने खोला संरक्षणको लागि पर्खाल लगाउने निर्णय गरेको छ । मध्यपुर थिमि नगर कार्यपालिकाको आकस्मिक बैठकले प्राकृतिक रुपमा बगिरहेको खोलामा नगरपालिकाको क्षेत्राधिकार भित्र ढुंगाको मेसिनरी पर्खाल लगाई स्थायी संरचनाको निर्माण गर्ने निर्णय भएको प्रेस वक्तव्य जारी गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् ।मध्यपुर थिमि नगरपालिकाले अनधिकृत रुपमा रातीको समयमा खोला फर्काउँदा स्थानीय प्रशासन र प्रहरीबाट सहयोग नपाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।