भोलिको मध्यपुर थिमि नगर कस्तो हुनुपर्छ?

भोलिको मध्यपुर थिमि नगर कस्तो हुनुपर्छ?

राजेन्द्र श्रेष्ठ (रेनराजेन)

विभिन्न अन्यौल, उत्साह र आशंकाहरुबीच शान्तिपूर्वक सम्पन्न निर्वाचनले जनतामा एक खालको आशाको संचार गराएको छ भने निर्वाचित जनप्रतिनिधिहरुमा जोशजाँगर एवम् महत्वकांक्षा निर्दिष्त आफ्ना वाचाहरु पूरा गर्ने दृढता देखिएको छ । यिनै आशा र बाचाहरुबीच भोलिको सुन्दर भविष्य कल्पना गरिरहँदा प्रश्न उठ्न सक्छ वा उठ्नु पर्दछ कि भोलिको मेरो नगर कस्तो हुनुपर्दछ ?

सन्दर्भ जोडौं मध्यपुर थिमि नगरको । गाविसबाट नगरपालिका बनेपछि पहिलो बागडोर सम्हालेको जनप्रतिनिधिहरुले जनअपेक्षाकृत कार्य गर्न नसकेको र व्यवस्थित कार्ययोजना एवम् कार्यसम्पादनको अभावमा सुशासन दिन नसक्दा मौलाएको अव्यवस्था, अपारदर्शिता, अदूरदर्शीता, गैरजिम्मेवारीपन जनप्रतिनिधि विहिनका समयावधिमा थप झांगिएको अनुभव प्रत्यक्ष परोक्षरुपमा हरेक नगरवासीले गरेकै थियो । फलस्वरुप नगरको विकासले विगतमा न कुनै आकार लिन सक्यो न त गति नै । गन्तव्य बिनाको यात्रा झै योजना बिनाको विकासले नगरपालिकालाई अव्यवस्थित, अनियन्त्रित र कुरुप बनायो भने सारथी बिनाको रथ झै जनप्रतिनिधि बिनाको नगरपालिकाको सेवामा न त प्रगति थियो न त सुमति नै । यति भनिरहँदा नगर संचालनको प्रत्यक्ष जिम्मेवारीबाट बाहिर रहेका जनप्रतिनिधिहरुले समेत खबरदारीको भूमिकामा आफूलाई खरो एवम् दरो उभ्याउन नसक्दा र नगरबासी स्वयम् पनि कर्तव्यविमुख झै बनी चुपचाप बसिदिँदा नगरलाई अधोगति तर्फ लानेहरुको उत्साह बढेको हुनसक्छ भन्दा अतिशयोक्ति नहोला । यस्ता थुप्रैथुप्रै तिता, अमिला र अन्यन्त थोरै मिठा अनुभवहरुबीच नगरपालिका चलिरह्यो विगत झण्डै २२ वर्षदेखि ।

विकास निर्माणको कुरा गर्दा हिजोको दिनमा पनि विकास निर्माणको कार्य त भएकै थियो । तर त्यो योजनावद्ध थिएन, गुणस्तर नियन्त्रित थिएन, जनअपेक्षाकृत थिएन, समुदायमा आधारित थिएन, पारदर्शि थिएन र सँगसँगै गन्तव्य विहिन थियो, रुपरेखाविहिन थियो । जसले गर्दा विकास परिणाममुखी हुन सकेन । तसर्थ विकासको खाका कोर्नु अघि, योजना बनाउनु अघि भोलिको नगर कस्तो हुनुपर्दछ ? भन्ने सोच र प्रश्नमा मस्तिष्क खियाउनु अपरिहार्य हुन्छ । अन्यथा परिवर्तन फेरि पनि जनअपेक्षाकृत नहुनसक्छ, विकास फेरि पनि व्यवस्थित नहुनसक्छ, । भावी नगरको परिकल्पनालाई मूर्त बनाउन नगर सरसफाइ योजना (City Sanitation Plan) तयार गर्नुपर्दछ । जसमा सरसफाइसँग सम्बन्धित विषयहरु जस्तै फोहरमैला, फोहरपानी, दिसाजन्य लेदो व्यवस्थापन र नगर सार्वजनिक शौचालयको बारेमा विस्तृत जानकारी एवम् खाका समावेश गरिएको हुन्छ । नगर सरसफाइ योजनाको अर्को विशेषता भनेको यो समुदाय मुखी हुन्छ वा समुदायसँगको वृहत् छलफलको आधारमा तयार गरिन्छ । साथै नमुना नगर निर्माणको जिम्मेवारी नगर प्रशासन सम्हालेका जनप्रतिनिधिहरुको मात्रै होइन, यो त नगर संचालनको प्रत्यक्ष जिम्मेवारीबाट बाहिर रहेका जनप्रतिनिधिहरु र स्वयम् नगरबासीको पनि हो । फरक यति हो जनप्रतिनिधिहरुमा जिम्मेवारीबोध र नगरबासीमा कर्तव्यबोध हुन्छ । त्यसो हो भने भोलिको मेरो नगर कस्तो हुनुपर्दछ भनेर सबैले सोच्नु पर्दछ । मेरो बिचारमा मेरो नगरको परिचय चार स सुसज्जित हुनुपर्दछ सफा, सुन्दर, साँस्कृतिक र समृद्ध । अथाृत् मेरो शहर सफा शहर हुनुपर्दछ, मेरो शहर सुन्दर शहर हुनुपर्दछ, मेरो शहर सांस्कृतिक शहर हुनुपर्दछ र मेरो शहर समृद्ध शहर हुनुपर्दछ । यससम्बन्धि विभिन्न श्रृंखलामा लेखुँला । आजको विषय: सफा शहर ।

सफा शहर के हो ?
मैले यहाँ उल्लेख गरेको सफा शहर भन्नाले सरसफाइयुक्त शहरलाई बुझाउँदछ । अझ प्रष्ट्याऔं, सफा शहर भन्नाले फोहरपानी र फोहरमैलाको समुचित व्यवस्थापन भएको भन्ने बुझिन्छ । नगरको खोलानाला र खुलास्थानमा फोहर (तरल र ठोस) नदेखिएको अवस्थालाई सफा शहरको सूचक मान्न सकिन्छ ।

सफा शहरको लागि फोहरमैला व्यवस्थापन
समग्रमा फोहरमैलाको एकिकृत व्यवस्थापन गरेर सफा शहर बनाउन सकिन्छ । नगरक्षेत्रमा विद्यमान् फोहरपानी र फोहरमैलालाई नमुनाको रुपमा व्यवस्थापन गरेर नगरको सरसफाइमा आमूल परिवर्तन ल्याउन सकिन्छ र नगरलाई सरसफाइमा अब्बल बनाउन सकिन्छ । तर विडम्बना नगरपालिका स्वयम् र नीजि कम्पनी वा संस्थाहरुले फोहर संकलन सेवा उपलव्ध भइरहेको अवस्थामा समेत खोला र खुल्ला स्थानमा अनियन्त्रित रुपले फोहर फाल्ने गरिएको पाइन्छ । फोहर संकलनको क्रममा नगरपालिकाबाट संचालित सेवा निशुल्क हो भने नीजि वा गैरसरकारी क्षेत्रले दिने सेवा सशुल्क हो । यस्तै गरी नगरपालिकाको सेवा मुलबाटोसम्म मात्रै पुगेको छ भने नीजि क्षेत्रको सेवा घरदैलो पुगेको पाइन्छ । तर जसले र जसरी फोहरमैला संकलन गरिएपनि यी दुई निकायको अभ्यासमा तात्विक भिन्नता भने छैन । दुबै अवस्थामा संकलित फोहरमैलालाई फेरि पनि खोलानाला र खुल्लास्थान वा सिसडोल ल्याण्डफिल साइटमा लगेर फाल्ने गरिन्छ । यसरी दुइटै निकायले दिने सेवा भनेको अन्ततः फोहर संकलन र डम्पिंग मात्रै हो । तर तसर्थ अहिलेको अभ्यासलाई फोहरमैला व्यवस्थापन भन्दा पनि फोहर स्थानान्तरण वा विस्थापन मात्रै हो भन्न सकिन्छ र नगरपालिकाको अधिकांश प्रयास विद्यमान् अभ्यासलाई थप व्यापक गर्ने मात्रै रहेको पाइन्छ जुन दिगो र वातावरणमैत्री छैन ।
यसको लागि वास्तविक रुपमा फोहर व्यवस्थापन अपरिहार्य छ र निम्न ४R (चारआर) सिद्धान्तहरुको अबलम्बन गरेर फोहरको समुचित र दिगो व्यवस्थापन गर्न सकिन्छ ।
1. Reduce (फोहर उत्पादन घटाउने) : फोहर संकलन र व्यवस्थापनलाई सजिलो, सस्तो एवम् प्रभावकारी बनाउँदछ ।
2. Reuse (पुनः प्रयोग गर्ने) : यसले फोहर उत्पादन र खर्च घटाउन सहयोग गर्दछ ।
3. Recycle (पुनःप्रशोधन गर्ने) : यसले फोहरबाट अर्थउपार्जन गर्न सहयोग गर्दछ ।
4. Recover (निहित पोषण तत्वको उपयोग गर्ने) : यसबाट अर्थउपार्जन र नगरवासी एवम् खेतबारीको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्दछ ।

यी त सिद्धान्त मात्रै हुन् । यसको सफल कार्यान्वयनको लागि व्यवहारिक नीति, रणनीति, योजना र कार्यक्रमलाई सँगसँगै अघि बढाउनु पर्दछ ।
नगरबासीलाई अहिलेसम्म दिइएको सेवा भनेको फोहरको कोरा संकलन मात्रै हो भने शिक्षाको नाममा फोहरलाई जथाभावी नफालौं वा निश्चित स्थानमा फालौं वा संकलनकर्तालाई जिम्मा लगाऔं भन्ने मात्रै हो । एकातिर फोहर व्यवस्थापनको नीतिगत व्यवस्था गरेको छैन भने अर्कोतर्फ फोहरमैला व्यवस्थापनमा समष्टिगत चेतना र व्यवहारिक ज्ञान पर्याप्त छैन र सरसफाइभन्दा अन्य क्षेत्रहरु जस्तै कौसी खेती, आयआर्जन आदिसँग जोडेर एकिकृत फोहर व्यवस्थापन गरिएको छैन । उदाहरणको लागि कम्पोष्टबिन वितरण गरेर कम्पोष्टिंग सम्बन्धि तालिम त दियो तर त्यसलाई कौसी खेतीसँग जोड्न नसक्दा कम्पोष्टबिनको सदुपयोग हुन सकेन । अर्कोतर्फ नीजि क्षेत्रलाई फोहर संकलनको जिम्मा त दियो तर संकलित फोहरलाई कम्पोष्टिंग, प्रयोगीय वस्तुको पुनः प्रयोग र ल्याण्डफिल फोहरलाई मात्रै डम्पिंग गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेर वातावरणमैत्री ढंगले व्यवस्थापनको जिम्मा पनि सँगै नदिँदा फोहर संकलन कार्य आयआर्जनको माध्यम मात्रै बन्यो तर नगरको खोलानाला र खुल्ला स्थान फोहर मुक्त हुन सकेन । त्यसैगरी फोहरलाई स्रोतमै छुट्याउनुपर्ने नीतिगत व्यवस्था र विधिको अभावमा फोहर व्यवस्थापन जटिल र महँगो भएको छ । तसर्थ नगरलाई सफा शहरको रुपमा विकास गर्न एकिकृत फोहरमैला व्यवस्थापनलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने देखिन्छ ।
अन्तमा सफा शहरको लागि गर्न सकिने केहि कार्यक्रमहरु:
1. फोहरमैला व्यवस्थापन सम्बन्धि नीति र रणनीति निर्माण ।
2. वडास्तरीय समुह वा समिती (यथासम्भव विद्यमान) लाई घरेलु फोहरमैला व्यवस्थापन र कौसीखेती सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम ।
3. छानिएका तालिम प्राप्त प्रशिक्षकलाई परिचालन गरी टोलटोलमा घरेलु फोहरमैला व्यवस्थापन र कौसीखेती विषयक छलफल, चेतनाकरण एवम् अभिमुखिकरण संचालन गर्ने ।
5. घरेलु फोहरमैला व्यवस्थापन र कौसीखेती प्रवद्र्धन र यसको नियमित अनुगमन एवम् प्राविधिक सहयोग ।
6. स्रोतमै फोहरमैला बर्गिकरण गर्नुपर्ने अनिवार्य व्यवस्था गर्ने र संकलित फोहरमैलालाई स्थानान्तर मात्र नगरी सुरक्षित विसर्जन गर्नुपर्ने अनिवार्य व्यवस्था गर्ने ।
7. फोहरमैला व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एक दिन वा पटकमा एक प्रकारको फोहरमात्रै उठाउने व्यवस्था गर्ने ।
8. नगरक्षेत्रको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन नीजि क्षेत्रसँगको साझेदारीमा फोहर व्यवस्थापनको कार्यक्रम संचालन गर्ने ।
8. घरको फोहरमैला संकलनको लागि नीजि क्षेत्रलाई जिम्मेवारी दिने र सडक एवम् सार्वजनिक स्थानको सरसफाइ जिम्मेवारी नगरपालिकाले गर्ने । यसबाट नगरपालिकाको कार्यभार कम भई व्यवस्थापकीय सेवा सरल, चुष्ट हुनेछ ।
9. संकलित कुहिने प्रकारको फोहरलाई बायोग्यास प्लान्ट, कम्पोष्ट प्लान्ट जस्ता प्रविधि स्थापना गरी नगरपालिका स्वयम् वा डिजाइनर वा नीजि क्षेत्रलाई संचालनको जिम्मेवारी दिने ।

सफा शहरको लागि फोहरपानी व्यवस्थापन
फोहरमैला पछि फोहरपानी नगरको अर्को प्रमुख समस्या हो । फोहरमैला मात्रै होइन नगरपालिकाकै सहयोग, संलग्नता र अगुवाइमा घरघरबाट निस्किएको फोहरपानीलाई बिनाप्रशोधन पवित्र खोलानालामा निसंकोच विसर्जन गर्ने गरिएको छ । परिणामतः हिजोको पवित्र खोलानदिहरु आज प्रदूषणले मृत प्रायः छ । यतिले मात्र सन्तुष्ट हुन नसकेको नगरपालिका स्वय्मले ठूल्ठूला ढलको पाइप बिछ्याएर ढलमा परिणत गरी सिद्धिकाली खोला मास्ने कार्य गरेको छ । यो भन्दा गैरजिम्मेवारीपन, वौद्धिकस्खलन के हुनसक्छ ? जुन निकायले संरक्षणको लागि नीति बनाउनु पथ्र्यो, संरक्षण गर्नुपथ्र्यो आज उही निकाय ढल बिछ्याएर खोला मास्ने कार्यमा निसंकोच सक्रिय भएर लाग्दछ । विकासको नाममा प्राकृतिक सम्पदा खोलानदि मास्नु गैरकानुनी हो कि होइन नगरपालिका कै कानुन शाखाले निक्र्यौल गरी सार्वजनिक गरोस् किनकि मसँग यसबारे चासो छ, चिन्ता छ, विरोध छ तर कानूनी ज्ञान छैन ।

कुरा गरौं फोहरपानी प्रशोधनको, त्यसो त खोलानदिको वर्तमान् अवस्थाको कारण फोहरमैला फाल्नु र बिनाप्रशोधन फोहरपानी मिसाउनु नै हो । तर प्राविधिक रुपमा केलाउने हो भने एकातिर प्रदूषणको मात्रा उच्च छ भने खोलाको उद्गम क्षेत्रमा पानीको दोहनले खोलानदिको बहावमा उल्लेख्य कमि आएको छ जसको कारण खोलानदिको प्राकृतिक प्रशोधन सम्भव भएन । त्यस बाहेक जलवायु परिवर्तन पनि केहि हदसम्म असर गरेको संभावनालाई नकार्न सकिंदैन । त्यसो भए विद्यमान् खोलानदिलाई पहिला कै अवस्थामा पुनर्बहालि गर्न सकिन्छ त ? उत्तर सरल छ, फोहरमैला नफाल्ने र फोहरपानीलाई प्रशोधनपछि मात्रै विसर्जन गर्ने हो भने खोलानदिलाई पुनर्जीवन मिल्छ । फेरि लाग्न सक्छ फोहरपानीलाई पनि खोलानदिमा खस्न नदिने हो भने खोला त सजिलै सफा भैहाल्छ । तर यथार्थ भिन्न छ, भर्खरै माथि चर्चा गरिए झै आज खोलानदिमा प्राकृतिक बहाव घटिसकेको अवस्था छ भने जति पनि पानी खोलानदिमा बगिरहेको छ त्यसको अधिकांश बहाव कृत्रिम हो अर्थात् फोहरपानी हो । तसर्थ ढलनिकासलाई खोलामा नमिसाउने हो भने खोलामा बहाब देख्न मुस्किल पर्नेछ । यसबाट के बुझिन्छ, ठाउँठाउँमा फोहरपानीलाई प्रशोधन गरेर खोलामा मिसाउनु पर्दछ । यद्यपी प्रशोधनको लागि स्थानको अभाव अर्को समस्या देखिन सक्छ तैपनि उपलव्ध स्थान र प्रविधिलाई अधिकतम उपयोग गरी फोहरपानीको केहि मात्रालाई प्रशोधन गर्न सकिन्छ । उदाहरणको लागि कमेरोटार जग्गा एकिकरण आयोजना क्षेत्रबाट उत्पादन हुने फोहरपानीलाई सोहि स्थानमा प्रशोधन गरेर खोलामा सुरक्षित विसर्जन गर्न सकिन्छ । त्यसैगरी नगरपालिका भएर बग्ने खोलानदि छेउका उपलव्ध विभिन्न स्थानको अधिकतम उपयोग गरेर प्राकृतिक रुपमै वा आंशिक अप्राकृतिक विधिको समेत प्रयोग गरी फोहरपानी प्रशोधन गर्न सकिन्छ । नेपालकै पहिलो सामुदायिक सुंगा फोहरपानी प्रशोधन केन्द्र यसको ज्वलन्त उदाहरण हो भने यसैको सिको गरेर थुप्रै प्रशोधन केन्द्रको निर्माण समेत भइसकेको छ ।
अन्तमा सफा शहरको लागि गर्न सकिने केहि कार्यक्रमहरु:
1. फोहरपानी विसर्जन सम्बन्धि नीति र रणनीति निर्माण ।
2. विद्यमान् ढलनिकासको अवस्थाबारे अध्ययन, सर्भेक्षण गरी नक्सांकन गरी सम्बन्धित विवरण यद्यावधिक गर्ने ।
3. आवश्यकता अनुसार विद्यमान् संरचनाको सुधार एवम् नयाँ संरचनाको लागि योजना बनाउने ।
4. विकेन्द्रिकृत फोहरपानी प्रशोधन प्रणाली DWATS SBR जस्ता प्रविधियुक्त प्रशोधन केन्द्र स्थापना गरी नगरपालिका स्वयम् वा डिजाइनर स्वय्मलाई संचालनको जिम्मेवारी दिने ।

सफा शहरको लागि सार्वजनिक शौचालय
नगरको सफाइमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र सार्वजनिक शौचालय पनि हो । नगरपालिकामा केहि स्थानहरुमा सार्वजनिक शौचालयको आवश्यकता रहेको छ भने विगतमा बनेका केहि स्थानका शौचालयहरु हाल अनावश्यक देखिन्छ र केही स्थानका शौचालयहरु भने मर्मत एवम् व्यवस्थित संचालन गर्नुपर्ने देखिन्छ । विद्यमान् शौचालयको अध्ययनबाट के देखिन्छ भने शौचालयको भौतिक अवस्था र यसको व्यवस्थित संचालनमा विशेष ध्यान दिन सकेन भने दिगो हुन सक्दैन । शौचालय प्रयोगकर्तामैत्री (बालमैत्री, लैंगिकमैत्री, बृद्ध वा असक्तमैत्री र अपांगमैत्री) हुनुपर्दछ । व्यवस्थित संचालनको लागि आयस्रोत र नियमित अनुगमन मुख्य हुन्छ । यसको लागि शौचालय र यसको परिसरलाई आयआर्जनको माध्यम बनाइनुपर्दछ भने शौचालयको सरसफाइ र मर्मतसंभारसम्बन्धी नियमित अनुगमनको आवश्यकता पर्दछ ।
क्रमशः सुन्दर शहर