बोडेमा नीलबाराही नाच हेर्नेको घुइँचो
मध्यपुर थिमिको बोडेमा देखाइने नीलबाराही नाच हेर्नेको घुइँचो लागेको छ । गाईजात्राको भोलिपल्टको मध्यरातिदेखि सुरु हुने नाच तीन दिन चार रातसम्म बोडेमा चल्ने गर्दछ ।
बोडेका नेवार समुदायले मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । पन्ध्र दिनअघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकमा देखाइने गरिन्छ ।
नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ । प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
नृत्य टोलीमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौजना गरी १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।
दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर बोडेमा नचाइने नीलवाराही नाच कहिलेदेखि सुरु भएको हो भन्नेबारे यकिन जानकारी नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने स्थानीय दिलकृष्ण प्रजापतिले बताउनुभयो ।
नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधि सिकाएर पठाएपछि यो नाच सुरु भएको किंबदन्ती रहिआएको छ ।
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिसापिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ । प्रत्येक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच नचाइन्छ । बिहानीपख देवगणलाई पूजा गर्न स्थानीय जनताको घुइँचो लाग्ने गर्छ । रासस