११ वर्षपछि निरन्तरता पायो जिब्रो छेड्ने जात्राले
मध्यपुर थिमी नगरपालिका ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले ११ वर्षपछि बुधबार जिब्रो छेडाएका छन्। मध्यपुर थिमि नपा इन्द्रजात्राको भोलिपल्ट हुने यन्यापुन्हीया मेप्वा जात्राअन्तर्गत बुधबार वीरेन्द्रभक्तले दोस्रोपटक जिब्रो छेडाएका हुन्।
यसअघि २०६३ सालमा वीरेन्द्रले जिब्रो छेडाएपछि रोकिएको थियो। ११ वर्षसम्म जात्रा रोकिँदा पनि जिब्रो छेडाउन कोही अघि नसरेपछि वीरेन्द्र आफै यसवर्ष पनि जिब्रो छेडाउन अघि सरेका हुन् । उनलाई स्थानीयले पनि यस वर्ष राम्रै साथ दिएका छन्।
स्थानीय दिगु भैरव मन्दिर सामुन्ने रहेको दबुमा हजारौं भक्तजनको सामुन्ने कर्मी नाइके बाबुराजा श्रेष्ठले वीरेन्द्रको जिब्रो छेडेका हुन्।याँ मतासहित आएका कर्मी नाइके श्रेष्ठले सातादिनअघि नै तयार गरेको करिब एक फिट लामो सुइरोले वीरेन्द्र जिब्रो छेड्दा दबुमा उपस्थित नायो पमा श्यामकाजी श्रेष्ठ, कान्छा नाइके मुकुन्दलाल श्रेष्ठलगायत जात्रालुहरुले दिगुभैरव र वीरेन्द्रको जयजयकार गरेका थिए।
जिब्रो छेडाइसकेपछि वीरेन्द्रले महाद्वीप बोकेर मध्यपुर थिमी नगर क्षेत्र परिक्रमा गरेका छन्। उनलाई बाटोमा कुनै बाधा व्यवधान नहोस् भनेर स्थानीय युवाहरु सुकेको निगालो फुटाएर बनाएको लठ्ठी बजाएर अघि अघि लागेका थिए।
मध्यपुर थिमी नगर परिक्रमापछि बालकुमारी मन्दिर पुगेका वीरेन्द्रको जिब्रो छेडिएको सुइरो झिकिएको थियो । सुइरो झिकिएपछि घाउ भएको जिब्रोमा बालकुमारी मन्दिरभित्रको माटोसँगै चिनी एकमात्रै खुवाइएको नायो पमा श्यामकाजी श्रेष्ठले जानकारी दिए।
‘सुइरोले घाउ भएको जिब्रोको औषधि नै बालकुमारी मन्दिरभित्रको माटो र एकमात्रा चिनी हो’, उनले भने,’यसो गर्दा जिब्रोबाट रगत पनि आउन पाउँदैन र घाउ पनि चाँडै पुरिन्छ।’
१७ जनासम्मले छेडेका छन् जिब्रो
राजदरबारको प्रतीक जुजुया चिँ (राजदण्ड) बोक्ने नायो पमा श्रेष्ठका अनुसार उक्त जात्रामा एकजनाले मात्रै जिब्रो छेड्ने भन्ने छैन। उक्त जात्राअन्तर्गत एकैपटक १७ जनासम्मले जिब्रो छेडाएको उनी बताउँछन्।
‘हाम्रा बाबुबाजेले बताउनुभएअनुसार यस जात्रामा एकैपटक सत्रजनासम्मले जिब्रो छेडाएका छन्’, पमा नाइके श्रेष्ठले भने, ‘बालकुमारी मन्दिरमा ठोकिएको सुइरो गन्दा पनि यो पुष्टि हुन्छ।’
उनका अनुसार जिब्रो छेडिएको सुइरो बालकुमारी मन्दिरमा ठोकिन्छ। जसअनुसार एकै ठाउँमा १७ वटा र अर्को ठाउँमा पाँचवटा सुइरो एकै ठाउँमा ठोकिएको छ।
जिब्रो छेडेको पशुपतिसम्म पुगे
नायो पमा श्रेष्ठका अनुसार २००४ सालमा जिब्रो छेड्ने व्यक्ति काठमाडौंका पशुपतिसम्म हिँडेर पुगेका छन् । उक्त जात्रामा जिब्रो छेड्ने व्यक्तिले आफूलाई मनपरेको ठाउँमा जान पाउँछन्।
‘उनलाई कसैले रोकतोक गर्दैन’, कान्छा नाइके श्रेष्ठले भने, ‘२००४ सालमा जिब्रो छेड्ने व्यक्ति हिँडेरै पशुपति पुगे । २०२६ सालमा जिब्रो छेडाउने भने भक्तपुरकै चाँगुनारायण पुगेका थिए।’अरु भने मध्यपुर थिमीका विभिन्न देवदेवीका मन्दिरमात्रै घुम्ने गरेका छन्।
कान्छा प्रधान श्रेष्ठका अनुसार पहिले राजदरबारबाट सञ्चालन हुने उक्त जात्रा प्रजातन्त्र आएपछि रोकिएको थियो। जसअनुसार २०२६ सालपछि २०५३ सालमा मात्रै जात्रा हुन सकेको थियो । त्यसपछि २०५९ सालमा आएर फेरि रोकिएको थियो। २०२६, २०५३ र २०५९ सालमा कृष्णनानी श्रेष्ठले जिब्रो छेडाएको कान्छा प्रधान श्रेष्ठ बताउँछन्।
यस वर्षको जात्रा व्यवस्थित एवं मर्यादित ढंगले सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समितिसमेत गठन गरिएको थियो।
समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले परापूर्वकालमा थिमीका बासिन्दालाई भूतप्रेत, ख्याकहरुले दिने दुःखबाट छुटकारा दिलाउन थिमीका आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात बालकुमारीबाट भाद्र शुक्ल पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराउन आदेश भएअनुसार जात्रा भएको जानकारी दिए।
– ईश्वरकाजी खाइजू