बिस्केटको रसबस
सुभाषराम प्रजापति
थथिं जाःगु रसबस तोलताव
राम हं जि गन वने
अर्थात् यस्तो रसबस छोडेर हे राम म कहाँ जाऊ ..
बिस्केट जात्राको उमङ्गमय रसबसमा गाइने घातु गीतको अंश हो यो । वसन्त ऋतुको सन्ध्यामा मनाइने बिस्केट जात्राको सांस्कृतिक चहलपहललाई नै उत्प्रेरित गर्छ घातु गीतले । दापपखिं नाय्खिंर एक-दुईदेखि सयौंको सङ्ख्यामा बज्ने धिमय् बाजाले वातावरणलाई साङ्गीतिक ऊर्जा दिन्छ । घातु गीत र धिमय्को गुाजन नै बिस्केटको पूर्णता भने होइन । विभिन्न ठाउँमा ठाउँअनुसारका विशेषताहरु छन्- बिस्केट जात्राका ।
भक्तपुरकी एक राजकुमारीको नाकका प्वालबाट निस्केका बि सर्प हरु मारेको कथा लिच्छविराजा शिवदेव द्वितीयको राज्यकालमा शेखर आचाःजु दम्पती नाग-नागिनी भएको र पछि आत्महत्या गरेको कथा हरिदत्त र पताःमय्जुलाई बलि दिएको र पछि नाग-नागिनी भई प्राण त्यागेको कथा भक्तपुरमा हाहाकार भएको समयमा काशीका विश्वनाथ आई हाहाकारको मूल कारक अजिङ्गरलाई मारेको कथा र एक सूर्यवंशी राजाले छुमा गणेशको आदेशमा नाग-नागिनी मारेको कथालाई आधार मानी कथामा भनिएका बि सर्प÷नाग÷अजिङ्गर मरेपछि तिनीहरुको सम्झनामा चलाएको ‘बि सिइ धुंकाया जात्रा’, सर्प मरेपछिको जात्रा ‘सीम्ह बि खाःगुया जात्रा’ – ‘बिसिखात’, मरेको सर्प झुन्ड्याएर मनाइने जात्रा, सिम्ह बिया जात्रा- ‘बिसियात’ वा ‘बिसियाः’. मरेका सर्पहरुको जात्रा ‘बिस्याङ खाया जात्रा बिस्याङ जात्रा’, सर्प मारेको जात्रा ‘बिसिकाःया जात्रा’, ‘बिसिकाः’ जात्रा सर्प मरेपछिको जात्रा भनी भन्दै आइरहेको पाइन्छ । ‘बिसिकाः’ को परिवर्तित रुप नै बिस्काः वा बिस्केट हो भनिन्छ । यस्तो भन्दै आएको भए पनि यी सम्पूर्ण कथाहरुलाई कथामै छाडी प्राचीन अभिलेख धार्मिक ग्रन्थ र बिस्केटको संस्कृति हेर्दा बिस्काः वा बिस्केट शब्द यसरी आएको होइन भन्ने थाहा हुन्छ ।
‘बिस्केट’ शब्द ‘वृषकेतु’ वा ‘विश्वकेतु’ को अपभ्रंश हो । ‘विश्वकेतु’ शब्दको अपभ्रंश नै बिस्केट हो भन्ने कुरा मनुको गौतमी तन्त्रले प्रमाणित गर्दछ । चैत मसान्तको दिन ध्वज उत्थान गर्दा सम्पूर्ण दुःख विनाश भई सर्व शत्रु नाश हुन्छन् भनी गौतमी पुराणमा लेखिएको छ । गौतमी पुराणमा ‘विश्वजात्रायां ध्वजोत्थानक’ भनिएको छ । सूर्य मीन राशिबाट मेष राशिमा जाने अर्थात् विश्वयात्रा हुने दिन उठाउने ध्वज भएकाले उक्त ध्वजलाई विश्वध्वज भन्ने गरेको थाहा पाइन्छ । विश्वजात्रालाई विश्व मल्ल र विश्वनाथसँग पनि जोड्ने गरे पनि ‘विश्व’ शब्द ‘वृष’ बाट आएको भनाइ पनि छ । ‘वृष’ शब्दलाई इन्द्र विष्णु र शिवका रुपमा पनि परिभाषित गरिएको छ । ‘केतु’ को शाब्दिक अर्थ ध्वज वा झन्डा हो । यसर्थ वृषकेतुको अर्थ शिवध्वज विष्णुध्वज वा इन्द्रध्वज हुन आउँछ । यही वृषकेतु शब्दबाट विषकेतु विसकेतु बिसकेट हुँदै बिस्केट भएको तर्क स्वीकारयोग्य छ ।
यो जात्राका सम्बन्धमा भेटिएको अहिलेसम्मको सबभन्दा पुरानो शिलालेख भक्तपुर टौमधि टोलको भैरव मन्दिरसँगैको धारामाथि रहेको यक्ष मल्लको शिलापत्र ने.सं.५६१ मा ‘विश्वजात्रा’ शब्द उल्लेख भएको छ । ने.सं. ७२३ देखि ९३६ सम्मको एक घटनावली हस्तलिखित ग्रन्थ मा पनि ‘विश्वजात्रा’ नै उल्लेख भएको देखिन्छ । ने.सं. ६४१ को थिमिको भूमिसम्बन्धी ताडपत्रमा ‘विसक जात्रा’ लेखिएको छ भने भाषा वंशावलीमा ‘विशकाट’ भनिएको छ । त्यस्तै बोडे महालक्ष्मी मन्दिरअगाडिको ने.सं. ८७७ को शिलापत्रमा ‘विसाका’ उल्लेख भएको छ भने ने.सं. ८०४ को नगदेशको जात्रासम्बन्धी जितामित्र मल्लको सूचीपत्र र बोडे भांगु टोलको ने.सं. ९२२ को शिलापत्रमा ‘विस्क्यात’ उल्लेख छ । ने.सं. ९२५ को थिमि दक्षिणवाराहीको शिलापत्रमा भने ‘विस्कात’ उत्कीर्ण छ ।
समयानुसार नाम परिवर्तन भए पनि बिस्केट मूलतः ध्वजको जात्रा हो भन्ने देखाउँछ । बिस्केट जात्रामा ध्वज उत्थान गरेपछि वा लिङ्गो ठड्याएपछि मात्र जात्रा सुरु भएको मानिन्छ । बिस्केटमा लिङ्गो ठड्याउने चलन भक्तपुरका दुई ठाउँ भेलुखेल र तालाक्व कुम्हाल टोल साँगा श्रीखण्डपुर खड्पु चौकोट सुनाकोठी र टोखामा पनि छ । थिमिमा पनि लिङ्गो ठड्याउने चलन पहिले भए पनि हाल आएर हराइसकेको छ । नगदेशको जात्रामा विश्वध्वज हिलंपताः हातैले बोकी जात्रा गर्ने गरिन्छ भने बोडेमा अहिलेसम्म पनि लिङ्गो ठड्याउने चलन विद्यमान नै छ । धेरैजसो ठाउँमा चैत मसान्तको दिन लिङ्गो ठड्याउने भए पनि लिङ्गो ढाल्ने मितिमा भने एकरुपता छैन ।
चैत मसान्तको दिन भक्तपुरको टौमढीबाट नाय्खिं बाजा बजाई शव लगेजस्तै भाजं खतलाई भेलुखेलसम्म पुर् याइएपछि त्यहाँ लिङ्गो ठड्याउने गरिन्छ । भेलुखेलमा नै भैरव भद्रकालीको रथ पुर् याई जात्राको सुरुआत गरिन्छ । यो दिन टोखामा ‘द्यः ब्वयेगु’ अर्थात् देउताको प्रदर्शन हुन्छ र यही दिन थिमिमा बेलुका ‘गुूसि व्छयेकेगु’ अर्थात् वनको दाउरा बाल्ने गरिन्छ र राति दक्षिणवाराहीमा खत जात्रा हुन्छ । सङ्क्रान्तिको दिन भक्तपुरको भेलुखेलको लिङ्गो ढालिन्छ । यही दिन साँखुमा पनि लिङ्गो ढाल्ने जात्रा हुन्छ । यो दिन थिमिमा सिद्धिकाली र विष्णुवीरको मातृका गणको छुट्टाछुट्टै जात्रा हुन्छ भने धुलिखेलमा पनि नारायण मन्दिरनजिक खत जात्रा हुन्छ । टोखाको मसानकालीमा यो दिन ठूलो होम हुन्छ र यस दिन सबेरैदेखि थिमिको दक्षिण पर्ने गाम्चाको चखंु तीर्थमा मेला लाग्छ र खत जात्रा पनि हुन्छ । वैशाखको २ गते थिमिको बालकुमारीमा सिन्दूरे खत जात्राका साथै नगदेश टिगनी र टोखामा पनि खत जात्रा हुन्छ । बोडेमा जिब्रो छेड्ने जात्रा पनि यही दिन हुन्छ । बोडेमा जिब्रो छेडिसकेपछि ७ खतको जात्रा पनि हुन्छ । टोखामा नाग प्याखं माकः प्याखं आदि नृत्यहरु पनि प्रदर्शन गरिन्छन् जुन क्रम ४ गतेसम्म चल्छ । विभिन्न ठाउँमा विभिन्न खत जात्राहरु हप्तादिनसम्म अनवरत गरिन्छन् ।
गोपाल राजवंशावलीअनुसार ने.सं. ४१४ मा युवराज्ञी श्रीबिरमदेवीले इन्द्रकूट बनाइन् । तिनका छोरा श्री जयशक्ति देवले इन्द्रकूट ध्वजारोहण गरे । ने.सं. ४१४ देखि नै भक्तपुरमा ध्वज उठाउने वा लिङ्गो उठाउने गरिएको मानिन्छ । भक्तपुरमा पहिले बिस्केट जात्रा भनेर लिङ्गो ठड्याउने वा ध्वज उत्थान गर्ने र ढाल्नेमा मात्रै सीमित थियो । यही ध्वजबाट बिस्केट शब्द आएको कुरा माथि नै वर्णन भइसकेको छ । ध्वज उत्थान गर्ने चलन भक्तपुरबाहेक अन्य ठाउँहरुमा पनि भएको र हालसम्म पनि ती ठाउँका जात्राहरुलाई बिस्केट नै भन्दै आइरहेकोबाट भक्तपुरमा पहिले लिङ्गो मात्रको जात्राबाट भैरवको रथयात्रा र अन्य जात्राहरु पनि थपी भूपतीन्द्र मल्लको कार्यकालसम्म आइपुग्दा आठ रात नौ दिनको जात्रा भएजस्तै ती ठाउँहरुमा पनि पहिले लिङ्गोको मात्र जात्राबाट बढाएर पछि अरुअरु चलनहरु पनि थप्दै लगेको प्रतीत हुन्छ । लिङ्गो जात्राबाट अन्य आयामहरु थपिंदै अनुहार फेरिंदै आइरहेको बिस्केटको अनुहारलाई भड्किलो विकृतिले धमिल्याउन नसकोस् बिस्केटको रसबसमा यसरी नै गुनगुनाउन पाइरहियोस्-
थथिं जाःगु रसबस तोलताव
राम हं जि गन वने